Entertainment Social

कथा: भलादमी श्रीमती

“धेरै बोल्दा पनि बोल्दैन, अरुका नानाभाँती कुरामा खासै चासो पनि देखाउँदैन । मान्छे भलाद्मी देखिन्छ, श्रीमती पनि भलाद्मी नै त खोज्ला नि ! ” आमाले बाबातर्फ फर्केर मेरो बारेमा बोल्नुभो ।

बाको जवाफ हुन्थ्यो – खै बोल्न नजानेर हो कि ? ढंग पुर्याएर बोल्न अनी बोलेका कुरा पूरा गर्न पनि त सक्नु पर्‍यो नि ! हामीले खोजेकाले नहुने होला क्या रे, जस्तो चाहिन्छ उस्तै खोज्छ जोडी । जात, भात, परिवारको, कुलको इज्जत जानेकै छ।बीएसम्म पढाइदियौ, हाम्रो कर्तब्य पूरा गर्यौ बुढी अब । सके जागिर गरेर पढ्छ, नभए पाखुरा बजाएर खान्छ ” । शुक्रबार एक दिन जागिरबाट घर आउँदा कोठाबाट सुनेका बाआमाका गन्थन थिए ती ।

मित्र पाठक राजु

मित्र पाठक राजु

हुन पनि थोरै बोलेर भलाद्मी हुने भए भलाद्मी नै थिएँ म । यही मेरो थोरै बोल्ने बानिले होला, एउटी कुल घरानकि छोरीले समेत आफ्नो जीवन सँगी बनाउने सपना सजाउन थालेकी थिइन् । पढाइले म्यानेजर हुनुपर्ने भए पनि एकाउन्टेन्टको जागिरथियो मेरो । उनी भने शिक्षिका  । उनको घर बनाउने क्रममा हार्डवेयरको सामन लिन आउँदा उनको र मेरो आँखा जुधेपछी मनले मनलाई डिटेक्ट गर्‍यो शायद बारम्बार सम्झनामा आउन थालिन् ।

मेरो साथीको छोरा उनकै स्कुलमा पढ्ने र उनैले पढाउने हुँदा कहिलेकाहिँ साथीलाई मेरो कुर्चीमा राखेर उस्को छोरो पुर्याउन जान्थें म बाइकमा । प्ले ग्रुपका बिद्यार्थीलाई उनीहरूकै कक्षा कोठासम्म पुर्याऊन जाँदा उनीसँग आँखाले बात मार्थे, मुटु अल्लीबेसरी धड्किन्थ्यो । उनलाई देख्न पाउथें, तर दर्शन गरेजस्तो लाग्थ्यो । मानिलिउँ, साक्षत देवी हुन् सरु ।

बिस्तारै उनको मुटुको गति पनि बढ्न थालेको चाल पाएपछि एक दिन साथीकै छोराको झोलामा उनको नाममा पहिलो प्रेम पत्र कोरेर पठाएको थिएँ । झोला उनको हातमा दिँदै भनेको थिएँ मैले – झोलामा बाबुको खाजा छ, सुरक्षित राखिदिनु होलाल । त्यति भन्दा नभन्दै उनले बाबुको झोला छाम्न थालिन् । म पछाडि नफर्की टाप कसेको थिएँ ।

पहिलो भेटमा उनले भनेकी थिइन्  – मान्छे पातलो भए नि मुटु त बलियो रहेछ त ! कसरी आँट गरेको होला है, त्यो बच्चाको ब्यागमा लभ लेटर पठाउन । उनले थपेकी थिइन् ” मन त मैले नि पराउथें तर भविश्यमा म्यानेजर हुने मान्छे,आँटै आएन ।”

बारम्बार आउन थालिन् उनी पनि मैले काम गर्ने ठाउँमा र भेटघाट बाक्लिन थाल्यो । यस्तैमा एक दिन नारायणगढ बजारभित्रको बालकुमारी क्याम्पस जाने बाटोमा उनले मलाई सम्झाउँदै भनेकी थिइन् – जिन्दगी लामो छ आशिष ! योधिपिर धिपिर कमाइले हाम्रो जिन्दगी सुखमय जान्छ जस्तो लाग्छ तिमीलाई ? म नाजवाफ भएर फर्केको थिएँ । उनको त्यो कुरा मनमा गढेपछि त्यसको केही महिनापछि ठुलो हिम्मत बटुलेर मैले उनलाई सम्झाएको थिएँ – केही वर्ष विदेशमैपसीना बगाएर भए पनि तिम्रो सपनाको संसारलाई वास्तविकतामा बदल्ने छु सरु ।

मायामा मान्छे पागल हुन्छ शायद र आफ्नो माया पाउन लाई जस्तोसुकै त्याग र बलिदान गर्न पनि पछि हट्दैन । त्यसैले त चालीस पैंतालीस डिग्री तातोमा मलेसियन सालका काठ बोक्दा पनि उनलाई बेलाबखत दिने गुलाब बोकेझै हल्का महसुसगर्थें मैले । त्यसरी नै लगातार मेहनेत गरेर घर फर्कें म । त्योवीचमा खिया लगेको तिनको छानो फालेर तीन कोठे घर बनाएको थिएँ मैले । एउटा कोठा किचन, एउटा कोठा बुढेस काल लाग्दै गरेका मेरा आमा बालाई र एउटा मेरी प्यारी सरु रमलाई ।

बीच-बीचमा सम्पर्क नभएको पनि हैन, भै रहथ्यो । सन्चो, बिसन्चो, स्कुलतिरको खबर, घरतिरको खबर अनी भाबी जिन्दगी जिउने सपनाहरू साट्थ्यौ हामीले फेसबूक मार्फत । कहिले काहीँ जिस्किएर भन्थे मैले बच्चाको हेरचाह गर्नसिकीछ्यौ नि ? उनले तात्तातै जवाफ फर्काउथिन् – के सिक्नु पर्छ र ? जन्म जातै जानेछु मैले । मन मनै कल्पिन्थें म – लालाबाला सँगै लिएर सरुसँगै पार्कहरूमा चाहारेको ।

तीन वर्ष विदेशमा बिताएर गैंडाकोट फर्के म । बाबा आफै एयर पोर्ट आएकोले पारूलाई बोलाउने आँट आएन । छ महिना मात्रै भएको थियो उनी सँग फेसबुकमा मात्रै कुरा हुन्थ्यो । घरमा शंका गर्न थाले, अब फोनमा कुरा नगर्ने भनेकाले फोन मा सम्पर्क हुन छाडेको थियो ।अल्ली पछि त उनले मोबाइलको नम्बर समेत परिवर्तन गरेकी थिइन् ।  घरतिर आएपछि साथीभाइ, इस्ट-मित्र भेट्नुपर्छ भन्नुहुन्थ्यो आमा बाबा । तर, मलाई भने उनलाई भेट्न हतार थियो अनि कुरा गर्नु थियो- लगन गाँठो कहिले कस्ने भनेर । उनले भनेजस्तैस्वदेशमै ठूलो म्यानेजर हुन नसके पनि बिदेशमै भए पनि कम्पनीले मलाई त्यो भूमिका दिँदै थियो । त्यसैले नयाँ घरमा लक्षिन भित्राएर फर्किने सुरसारमा थिएँ म । सम्पर्क गर्न खोजे ।

पुरानो नम्बर प्रयोगमा थिएन, नयाँ नम्बरमा पनि सम्पर्क हुन सकेन भन्यो । फेसबुकमा म तिम्रो घर आउँदै छु भन्ने एकोहोरो म्यासेज छाडेर साथीको मोटर बाईक लिएर लागें म उनको घरतर्फ । उनको घर नजिकै पुगेर सोद्धा एउटी बैनीले भनिन् – ए सरु दिदी ! सरुदिदी त आफ्नै घर हुनु होला नि ! माइत आउनु भाछ र ? खै मलाई त थाहा छैन त माइत आएको त ! घर र माइत  का कुरा गर्ने बित्तिकै मलाई करेन्ट लागेझै भयो । बैशाख १२ को भूकम्पले जमिन थर्केझै लाग्न थाल्यो । सारा आकाश घुम्न थाल्यो । पाइलारोकिए मेरा, तुरुन्तै फर्किइहालें  उनको नाम पारेर बनाएको मेरो कुटीतर्फ । त्यसै त खुलेर नबोल्ने भन्नुहुन्थ्यो बाआमा त्यसपछि त झन सम्बाद नै हराएजस्तो भो घरमा पनि । संसार मिथ्या लाग्न थाल्यो । हरेक मान्छेहरूमा कपट, खोट देख्नथालें मैले । बाबाआमा घरमा प्रत्येक दिन विवाहको कुरा निकाल्नुहुन्थ्यो । मलाई भने बिहेको कुराले तनाब थपिएझै लाग्थ्यो । कपटी जन्जिर हो कि जस्तो लाग्थ्यो बिहे । कहिलेकाहीँ लाग्थ्यो, मेरा लागि मात्रै कपटी भएको छ माया प्रेम अनि योविवाह भन्ने बिषय ।

आफ्नै अगाडिबाट हाँस्दै खेल्दै कुम जोद्डै हिंडेका जोडी पनि देखिरहेकै छु । तर, माया प्रेमको अन्धोभक्त म जीवन भर उनको कोमल गुलाबसरी मुहारमा खुशी देख्न बुढेसकालमा एक्लो सन्तानबाट अलग्याएर आमाबाबा रूवाएर बिदेश पलायन भएकोसरुभक्त म, अब कठोर ढुङ्गा बन्दै थिए । आफ्नै भोगाइको “चोखो मायाप्रेम” नामको नाटक आफ्नै जिन्दगीको यो क्षणमा मन्चन भै सकेपछि निरिह दर्शक बनेर अरुको बाँधिएको अंगालो अनि मुस्कुराएको मुहार हेर्दै थिएँ म ।

मन सम्हालिएको त थिएन । एकपटक कपटी निस्ठुरीलाई भेटेर स्वार्थी मायाको बदला लिने योजना बनाउन थाल्यो एउटा पापी मन । तर, अर्को मन भन्थ्यो – तैले सम्हालिनु पर्छ, वास्तविकता बुझ्नुपर्छ । के थाहा परिबन्दमा पो परि कि मेरी सरु ? हामी छोराहरूको जस्तोखुल्ला जीवन जिउनै पो कहाँ पाउँछन र छोरीहरू ? तर, आक्रोश बढ्थ्यो मनमा, कम्तिमा मलाई भन्न त सक्थी नि अप्ठ्यारो मै परेको भए पनि ! किन नाटक गर्नु पर्थ्यो फोनमा नबोलम अब मम्मी ड्याडीले थाहा पाए भनेर ? किन फेर्नु पर्थ्यो मोबाइलको नम्बर पटकपटक ? अनि किन खानुपर्थ्यो टाउको माथि हात राखेर कसम ?

म बार बार सम्झिन्थे उनले मैले स्वीकार्नु पर्दा गरेका सम्झौताहरू – ” त्यो हात गन्हाउने हिलो गोबर चाँहि छुन्न है मैले भन्द्या छु , अनि तिम्रा ती बा आमाले कचकच गर्लान् राति नै उठ्ने, दैलो कुचो गर्ने, कोही आउँदा कपाल छोप्ने, निउरिएर हिंड्नुपर्ने, कसैलाईघोप्टो परेर ढोगिदिनुपर्ने, बुढा बुढीको खुट्टामा तेल सेल लाउने कुरा लाइफमा हुँदैन नि म बाट ।

मुटुमा ढुङ्गा राखेरै भए नि मैले भनेको थिएँ -म आँफै गरुला नि धेरै काम । तिमीलाई सुखैसँग पालम्ला नि सकेसम्म। यो समाजले अनि हाम्रो सस्कारले उनैलाई छुत्टाएका काम पनि मैले नै गर्छु वा मिलेर गरौंला भनेर पनि स्वीकारेको थिएँ उनलाई  । तर एक वचननसोधी कसरी तोडियो सम्बन्ध ? उनलाई भेटेरै उनकै मुखबाट यथार्थ बुझ्ने प्रण गरेर लागें उनको नयाँ घर पत्ता लगाउन ।

त्यही ठाउँ, जहाँ हामीले एक अर्कालाई स्विकारेपछि पहिलोपटक भेटेका थियौं, नारायणघाटबाट बालकुमारी क्याम्पस जाने रोड । एउटा घरको गेटमा पुगेर टक्क अडिएँ म । ठुलो चार तले घर, कम्पाउन्डिङ सहितको । दुई तीनवटा गाडी पार्किङमा थिएभित्र । प्रत्येक कोठामा एसी लगाइएको । प्रत्येक तलाको बाहिरतिर लहरे फूलहरू र सुनाखरी फुलेका । ठुलै होटल, बंगला वा अझ भनौं,  मेरा लागि त सानोतिनो दरबार जस्तो ।

चारतला माथिबाट कसैले मलाई नजर लगायो । बदलामा मैले पनि हेरिदिएँ । अर्को एकजना छतको पिङ जस्तो संरचनामा खुट्टा हल्लाइरहेको थियो । खुट्टा हल्लाइरहनेको आदेशमा मलाई नजर लाउने मान्छे तल ओर्ल्यो । खुशी भएँ म । कारण मलाईमाथि नै भेट्न बोलाइयो भन्ने बुझें मैले । गेट नजिकै आएर उस्ले भन्यो – ” मै सापले तपाईंलाई चिनी सिन्न रे ! यहाँ बस्न मिल्दैन, बडाहाकिम आउने बेला भाछ ।”

फेरि रिङगटा लाग्यो एकपटक मलाई । एक्कै छिन टाउको घुम्न छाडेपछि बिस्तारै उठेँ । थोरै पछि हटें । उनकै घरको पर्खालको पिँधमा उम्रिएको पातीको पत्ता टिपें, खल्तीमा एक रुपैयाँको सिक्का थियो त्यो पनि झिकें र मेरी सपना कि तरवास्तविकतामा अर्कैकी भैसकेकी भलाद्मी श्रीमतीको महलतर्फ फ्याकें अनि पछाडि नफर्केर आफ्नो बाटो लागेँ ।

घायल मन लिएर घरमा पुगें । बा र आमाले मलाई नै कुर्दै हुनुहुँदोरैछ । प्रसन्न मुद्रामा आमाको हातमा कसैको फोटो थियो । म घर पुग्नासाथ आमाले फोटो देखाउँदै भन्नुभो  – ल हेर त बाबु यी नानी कति लक्षिन कि जस्ती छिन् ! हेर्दा पनिकति भलाद्मी, तँ जस्तै ।

आमाले थप्नुभो – अनि त्यो फेसबुक हो कि क्या हो, तेसा साथी बन रे ।” केटाकेटीलाई फेस्बू’का साथी बनाइदिउँ, चित बुझाबुझ भयो भने कुरो अगाडि बढाम्ला भन्थे नानीका बाले ।

जीवनको एउटा पाटो सकियो कि जस्तो लाग्दैथियो तेही पनि मेरो भन्दा बाआमाको मुहारको हाँसो ठूलो सम्झेर मन नलाई नलाई ल्यापटप खोलें । फेसबूकमा एउटा म्यासेज आएको रहेछ । अनि एउटा फ्रेन्ड रिक्वेस्ट । फ्रेन्ड रिक्वेस्ट बाआमाकिहुनेवाली भलाद्मी बुहारीको । र, म्यासेज मेरी हुन नसकेकी भलाद्मी श्रीमतीको ।

म्यासेजमा लेखिएको थियो – “मलाई माफ गर ल आशिष, तिमी बिदेशतिरै हरायौ, यता मैले मेरा मम्मी ड्याडिको बचन हार्न सकिँन ।”

Source: Onlinekhabar