Blog Health

के हो ब्रेन अट्याक ? यस्तो देखिन्छ लक्षण

डा. राजिव झा, पदामर्शदाता / स्नायु शल्यचिकित्सक

ब्रेनको फङ्सन अचानक बिग्रनु ब्रेन अट्याक हो । यसले गर्दा धेरै टाउको दुख्नेदेखि होस हराउने, बेहोस हुने अवस्था आउँछ । यस्तो अवस्थामा रिंगटा लाग्ने र ढल्ने पनि हुन्छ । वीर अस्पतालमा यस्ता बिरामी दैनिक २÷३ जना आउँछन् ।
पहिला–पहिला बढी उमेर (४५–५०) वर्षमाथिका व्यक्तिमा देखिन्थ्यो, तर अहिले १८–२० वर्षको उमेरमा नै देखिन थालेको छ । सामान्यतया यो ४०–६० उमेर समूहका व्यक्तिमा देखिन्छ । तर युवामा पनि देखिन थालेको छ ।

ब्रेन अट्याक दुई किसिमको हुन्छ ।
ब्रेनको निश्चित भाग अर्थात् नसा ब्लक भई सुकेर जान्छ, र रगत जम्छ ।
सय जनामा करिव ७० देखि ८० जनामा नसा ब्लक भई सुकेको देखिन्छ भने बाँकी २०÷३० जनामा नसा फुटेर रगत जम्छ । रोग हुनुअगावै हामीले बच्नको लागि ब्लड प्रेसर, सुगर, कोलेस्टोरोल हुन नदिनु वा कन्ट्रोल राख्नुपर्छ ।

बच्ने उपाय
यस्ता विभिन्न रोगबाट बच्न दैनिक व्यायाम (सधैँ ४५ मिनेट) गर्ने, डाइट कन्ट्रोल गर्ने, नुन, चिल्लो कम गर्ने, चुरोट, रक्सी, जाँडको लतबाट पन्छिनुपर्छ ।
ब्रेन अट्याक भगवानले दिँदैनन् । यो हामी आफैंले निम्त्याएको एउटा भयावह रोग हो । समयमा नै सचेत होऔँ । यसका लक्षण जानी राखौँ । केही शंका लागे तुरुन्त औषधि खाएर, सुतेर नबसौँ, चाँडोभन्दा चाँडो डाक्टर वा अस्पतालमा सम्पर्क गरौँ ।

कारण 
मोटोपना
परिवार नियोजनसँग सम्बन्धित साधनको असर

लक्षण
धेरै टाउको दुख्दै जाने
बान्ता हुन थाल्ने
आँखाको दृष्टि कम हुने
शरीरको कुनै भाग असाधारण किसिमले चल्ने
मुखको आधा भाग जति बाङ्गिने
हातगोडा झमझमाउने
यस्तो लक्षण देखिनेबित्तिकै साधारण औषधि सिटामोल खाएर, सुतेर सञ्चो हुँदैन । त्यसैले पायक पर्ने ठाउँ नजिक तुरुन्त स्वास्थ्य संस्था वा डाक्टरकोमा जानुपर्छ ।
बेलैमा उपचार भयो भने ९० प्रतिशत राम्रो हुने सम्भावना हुन्छ । यदि ४÷५ घण्टा ढिला भयो भने रिजल्ट धेरै नराम्रो हुन्छ ।
यस्तो समयमा बोल्न गाह्रो हुने हुन्छ । ३ देखि ४ घण्टामा औषधि उपचार गर्न सके प्यारालाइसिस हुनबाट बच्ने सम्भावना हुन्छ । प्यारालाइसिस भइसकेको छ भने रिकभर हुँदैन ।

मुटुको रोगीले रगत पातलो हुने औषधि प्रयोग गरिरहेको छ भने जटिल हुन्छ ।
ब्रेन अट्याक भएर अझ पनि नेपालमा १०० मा ३० देखि ५० जनाको अस्पताल पुग्नु भन्दा अगावै मृत्यु हुन्छ । बाँकी ५० जना अस्पताल पुगेकामा २०÷२५ जना बाँच्ने हुन्छ । अरु बाँचेपनि मरेजसरी बाँच्नुपर्छ । त्यस्तो व्यक्ति सामान्य ( हुँदैन, केही गर्न सक्दैन ।
कसैले हर्ट अट्याक भनेर संवेदनशील हुन्छन् र यस्तो समस्या देखिनेबित्तिकै मुटुको भनेर मुटुको डाक्टरकोमा पुग्छन् । सुरुमा त थाहा नभएर साधारण अस्पताल र साधारण डाक्टरकोमा नै जचाउँन पुग्छन् ।

यदि सबैले ब्रेन अट्याक भन्ने थाहा पाए उनीहरुको स्वास्थ्यमा सुधार राम्रो हुने थियो । जानकारी भए सम्बन्धित विशेषज्ञ चिकित्सककहाँ पुग्यो भने समयमा नै उपचार भई त्यो विरामी राम्रो हुन्छ ।
दुःखको कुरा त नेपालमा ५०÷५५ जना मात्रै न्यूरोसर्जन छन् । विशेषज्ञ सेवा पनि नेपालका ठूला–ठूला अस्पताल र केही अञ्चल अस्पतालमा मात्र सीमित छ । जनकपुर, वीरगञ्जजस्ता ठूला सहरमा पनि यस्ता डाक्टर छैनन् । बिरामीले तुरुन्त चाहिने उपचार गर्न सकोस् भन्ने चाहना हुन्छ, तर त्यहाँ खासै उपचार हुँदैन र ट्रिटमेन्ट गर्न रिफर गर्नुपर्छ । त्यसो गर्दा समय हुँदैन र रोग जटिल बन्छ ।
सबै ब्रेन अट्याक भएको मानिसलाई अप्रेशन नै गर्नुपर्दैन । बिना अप्रेशन औषधिले पनि राम्रो हुन्छ । धेरैजसो ब्रेन अट्याक भएकाको विना सर्जरी उपचार हुन्छ ।
नेपालमा राष्ट्रिय स्तरको न्यूरो अस्पताल सबै सुविधा भएको, गरिबदेखि धनीसम्म सबैलाई हुने कम्तिमा एउटा अस्पताल चाहिएको छ । वीर, टिचिङजस्तो अस्पतालले मात्र यस्तो किसिमको दिमागको समस्याहरु भ्याउन सक्दैन । त्यसैले कम्तिमा पनि ५०० शैयाको अस्पताल चाहिन्छ । दुर्भाग्य अहिले नेपालमा छैन । यदि मानिसहरुलाई टाउको सम्बन्धि अस्पताल छ भन्ने थाहा भए त्यहाँ जाने थिए र उनीहरुको उपचार राम्रो हुन्थ्यो ।
नेपालमा आँखाको अस्पताल छुट्टै छ । मुटुको, क्यान्सरको, नाक, कान, घाँटीको अस्पताल छुट्टै छ । न्यूरोसम्बन्धी पनि छुट्टै अस्पताल हुनुपर्छ । जहाँ उपचार गर्न चाहिने अत्यावश्यक सबै सामान जस्तै सिटी स्क्यान, एमआरआई, एन्जियोग्रामको सेवा उपलब्ध होस् ।

(वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका स्नायु शल्यचिकित्सक डा. झासँग बाह्रखरीकर्मी यसिमा महतले गरेको कुराकानीमा आधारित)