National News

सम्झनामा महामानब : बीपी कोइराला

बीपी कोइराला नेपाली साहित्यमा मनोविश्लेषणको प्रयोगमा पनि अग्रणी रहनुभयो । विविध विषयमा उहाँले साधिकार आफ्नो धारणा र चिन्तन प्रस्तुत गरेर सिंगो नेपाली समाजलाई प्रभावित तथा प्रेरित गर्नुभएको छ ।आजभन्दा एकसय सात वर्षअघि (२०७१ सालमा ) जन्मेका बीपीले सक्रिय जीवनमा मानवीय पक्षको यावत् विषयमा आफ्नो गम्भीर अभिव्यक्ति दिनुभएको छ । गहिरो अध्ययन र बुझाइको कारण नै उहाँ साधिकार आफ्नो धारणा प्रेषित गर्न सफल रहनुभयो । 

राजनीति उहाँको मूल चिन्तन र समर्पण थियो । यस अतिरिक्त बीपीले समाजवादी आर्थिक नीति, साहित्य, विज्ञान र कलाजस्ता अन्य विषयमा पनि गहिरो अभिमत व्यक्त गर्नुभएको छ । समसामयिक विषयहरुप्रति उहाँको अवधारणा व्यक्त नभएको सम्भवतः कुनै विषय बाँकी छैन । 

एउटा व्यक्ति यति थुप्रै विषयमा बोल्नसक्ने पहिलो नेपाली बीपी नै अहिलेसम्मको यस्तो अन्तिम व्यक्तित्वसमेत मानिनुहुन्छ ।

हेरौँ, विशेष एक क्षेत्र वा विषयमा योगदान र चिन्तन दिने नेपालीहरु प्रशस्त छन् । साहित्य, अर्थ, सामाजिक सेवा, कला र व्यवसायमा सफल योगदान दिने सबै स्मरणीय छन् । यस्ता व्यक्तित्वको गुरुत्व आआफ्नो विषयमा छ । यस्तै व्यक्तित्वको योगदान र तपस्याले नेपाली संस्कृति समग्रमा धनी वा उन्नत भएको हो । राष्ट्रको पहिचान बनेको हो । बीपी चाहिँँ धेरै विषयमा धनी । 

व्यक्तित्वहरु पनि देशको पहिचान बन्दा रहेछन् । बीपीको सक्रिय इहलीला लामो रहेन । विसं २०३९ साल साउन ६ गते दिवंगत बीपीलाई लगातार आठ वर्ष जेलमा बन्दी बनाइयो । आठ वर्ष नै उहाँ राजनीतिक निर्वासनमा भारतमा बस्नुभयो । उहाँको बालवय पनि भारतमा निर्वासनमै बितेको थियो । 

राष्ट्रिय एकता र मेलमिलाप नीति लिएर २०३६ साल पुस १६ गते बीपी स्वदेश फर्कनु भयो । साथमा उहाँका अनन्य साथी गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, नीलाम्बर पन्थी र रामबाबु प्रसाइसमेत उहाँसँगै निर्वासन परित्याग गरी आफ्नै देश नेपाल फर्कनुभयो । यो कठोर निर्णय थियो र यसको कारणहरु पनि छन् । 

बीपी र सिंहलाई फाँसी दिने उद्देश्यले आठ आठ वटा मुद्दा चलाइएको थियो । त्यो बेला बीपीले अदालत समक्ष दिनुभएको बयान अत्यन्त चर्चित छ । यतिखेर पनि उहाँहरुलाई जेलमा बन्दी बनाइएको हो । यस्ता सबै राजनीतिक कष्ट राजा महेन्द्रको सत्ता महत्त्वाकांक्षाको परिणाम थियो । त्यसैको निरन्तरता केही वर्ष राजा वीरेन्द्र कालमा पनि रह्यो । 

उहाँको बाल्यकाल र भारत प्रवासको दिन अत्यन्त कष्टपूर्ण रहेको जानकारी सम्बन्धित दस्तावेजहरु पढ्दा पाइन्छ । राज्यसत्ताको प्रताडना, भारतीय सत्तापक्षको वक्रदृष्टि र आर्थिक अभावले ग्रस्त अवधिमा पनि बीपीले आफ्नो राजनीतिक सक्रियता कायम राख्नुभएको परिणाम नै नेपाली कांग्रेसको जीवन्तता बन्यो । हजारौं कार्यकर्तालाई आफू र नेपाली कांग्रेससँग जोड्न उहाँ सफल रहनुभयो । 

जेलमा बस्दा पनि बीपीले समयको सदुपयोग गर्नुभएको र सक्रिय रहनुभएको देखिन्छ । यही सक्रियताको प्रतिफल नै साहित्यमा गहकिलो उपहार उहाँले दिनुभएको हो । विविध विषयमा गहिरो अध्ययन पनि यसैबेला उहाँले गर्नुभयो । उहाँको दार्शनिक दृष्टि त्यसै वा सहजै निर्माण भएको होइन । जन्मजात विलक्षण प्रतिभा र परिश्रम दुवै विशेषता उहाँमा समाहित देखिन्छ । 

राजा महेन्द्र र उनले स्थापना गरेको निर्दलीय व्यवस्था, पञ्च, कम्युनिस्टहरु र परम्परावादीले बीपी र नेपाली कांग्रेसलाई अराष्ट्रिय तत्त्व (अत) भन्ने गरेका थिए । तर, बीपीको देशभक्ति भने अझै प्रेरणादायी छ । देशभक्तिको यही जगमा नेपाली कांग्रेस उभिएको हो ।  बीपीले लिनु भएको हरेक निर्णयमा देशभक्ति र राष्ट्रहित सन्निहित  पाइन्छ । 

पहिलो जननिर्वाचित संसद् र बीपी नेतृत्वको नेपाली कांग्रेसको सरकारलाई राजा महेन्द्रले १८ महिनामै अपदस्थ गरेर नेताहरुलाई जेलमा बन्दी बनाए । किन ? त्यसैताका भारतीय प्रधानमन्त्री जबाहरलाल नेहरुले अत्यन्त आदरपूर्वक राजा महेन्द्रलाई लेखेको चिठीले त्यो राजनीतिक ‘कु’ को घटनाको अन्तरवस्तुमा प्रकाश पारेको छ ।

नेहरु लेख्छन् – बीपी नेतृत्वको सरकारलाई अपदस्थ गर्न र अर्को सरकार बनाउन सहमत थिएँ तर तपाईंले संसद्समेत विघटन गरिदिनु भयो । उनको भनाइको अर्थ बीपीको सरकार फाल्न सहमति दिएको हुँ, संसद् विघटन गर्न होइन । नेहरुको इसारामा राजा महेन्द्रले नेपालको नवस्थापित प्रजातन्त्रप्रति घातक हमला गरे र बीपीलाई नै अराष्ट्रिय तत्त्वको आरोप लगाए । 

बीपी नेतृत्वको डेढ वर्षे सरकारले सुरु गरेका विकास कार्य र शोषण अन्त्यको लागि त्यतिबेला भएका प्रयत्न एवं निर्णय नेपालको नवचेतनाको लागि कोसेढुंगा नै हुन् । थप उचाइमा त्यो सरकारले देशभक्ति, राष्ट्रहित र स्वतन्त्र सार्वभौम मुलुक नेपालले परराष्ट्र नीतिमा लिएको निर्भीक स्वतन्त्र निर्णय प्रशंसनीय र प्रेरणादायी छ ।

यतिबेलै दक्षिण एसियाली मुलुकहरुमध्येबाट इजरायललाई मान्यता दिने पहिलो मुलुक नेपाल हो । पाकिस्तानसँग दौत्य सम्बन्ध स्थापना पनि बीपी नेतृत्वको नेपाली कांग्रेस सरकारले नै गरेको हो । छिमेकी चीनसँगको सम्बन्धलाई गहिरो आत्मीयतामा लग्ने र सीमा विवाद सुल्झाउने काम पनि यतिबेलै भयो । 

चीनको भ्रमणमा बीपीले तत्कालीन नेता माओ त्सेतुङ र प्रधानमन्त्री चाउएन लाईसँग वार्ता गरेकै कारण दुई देशबीचको सम्बन्धलाई विस्तारका साथै सीमा विवाद समाधान भएको हो । यतिखेर नै दर्जनौ मुलुकसँग नेपालको कूटनीतिक र दौत्य सम्बन्ध कायम गरिएको थियो । 

समाजवादी विश्वनेता बीपीको व्यक्तित्व र नेपाल राष्ट्रको हितमा स्वतन्त्र निर्णय लिने उहाँको निर्भीक क्षमता तत्कालीन भारतीय शासकलाई मनपर्ने कुरा भएन । भारतको यही मनोदशा बुझेका वा बीपीविरुद्ध उचालिएका राजा महेन्द्रले आफ्नो सत्ताकांक्षा पूरा गर्ने अवसरमा यो अवस्थालाई लिए र उपयोगसमेत गरे । 

नेहरुको त्यो चिठीले संकेत गर्छ – बीपीको सरकार नेहरुकै सहयोगमा अपदस्थ गरिएको थियो । यही मौकालाई राजा महेन्द्रले संसद् विघटन गर्न र आफ्नो रुचिको व्यवस्था ल्याउन वा प्रजातन्त्र खतम पार्न प्रयोग गरे । देशभक्त राजनेताले नेतृ्त्व गरेको सरकारलाई छिमेकी देशको नेताका इसारा वा सहयोगमा अपदस्थ गर्नु कस्तो ‘राष्ट्रवाद’ रहेछ ?

अहिले पनि नेपालको राजनीति वा समाजवादी चिन्तको धुरी बीपी कोइराला नै हो । सबै दल र नेताले बुझेको र व्यक्त गरेको धारण पनि यही हो । बीपीको विचारलाई आआफ्नो स्वार्थ वा दृष्टिकोणमा व्याख्या गर्नेहरु पनि छन् । फरक विगतमा बीपीको तीव्र आलोचना गर्ने र आरोप लगाउनेहरुले पनि बीपीलाई बुझ्न र सम्मान दिन थालेका छन् । विश्वका अधिकांश मुलुकमा यस्ता सर्वमान्य व्यक्तित्व हुन्छन् । नेपालमा बीपी नै त्यस्तो व्यक्तित्व बन्नुभयो ।