Blog National

भोट खसाल्ने जनावर ..

एकपल्ट एउटा ठूलो जंगलमा जनावरको नेता चुन्ने प्रस्ताव आएछ । कस्तो नेता चुन्ने भन्ने विषयमा जंगली जनावरबीच बृहत् छलफल भएछ । जनावरहरूमध्ये सबैको हित गर्ने, पानीको खोजी गर्ने, आहाराको व्यवस्था गर्ने र मौसमअनुसार बास सर्दा सुरक्षाको बन्दोबस्त गर्ने जनावरको खोजी गर्न सकेको खण्डमा सबैको चित्त बुझ्ने देखियो । धेरै छलफल पछि कुटिलताले भरिपूर्ण चितुवा, झेली भनिने स्याल र उधुम मचाउने ढेडु बाँदरले उमेदवारी दिने निर्णय गरेछन् ।

जब चितुवाले उमेदवारी दिने कुरामा सबैको सहमति माग्न थाल्यो, अरु जनावरले उसलाई किन भोट दिने भनेर प्रश्न गर्न थालेछन् । चितुवाले भनेछ — सबै जनावरको हित गर्ने कुरामा ऊ जति अरु कसैको क्षमता छैन । धेरै वर्षदेखि उसले जनावरको रक्षा गर्दै आएको र उसका पुर्खा बाघको प्रसादले गर्दा जंगलमा यति धेरै रुख हुर्किन पाएको व्यहोरा सुनाएछ । त्यसैले नयाँ व्यवस्थाअन्तर्गत पनि उसैले जनसेवा गर्नुपर्ने दाबी गरेछ । ऊ पानीको मुहानको छेउमा गएर उभिएको खण्डमा अर्को जंगलबाट जनावर आएर तलाउको पानी पिउन नसक्ने हुनाले पानीको संरक्षण हुने र जनावरलाई आहारा खोज्न पनि उसले तटस्थ वातावरण बनाउने जिकिर गरेछ । सुरक्षाको विषयमा कुरै भएन, उसले सुरक्षा दिएपछि कसले आक्रमण गर्ने ? त्यस कुटिल चितुवाले आफू रुखझैँ शितल छहारी र पानी परेको बेला ओत दिने असल अभिभावक हुने कसम पनि खाएछ ।

तर, झेली स्याललाई भने चितुवाको कुरा मन परेनछ । उसले चितुवाजस्तो एकै छाकमा धेरै मासांहार गर्ने जनावरलाई त्यति सहजै नेतृत्व सुम्पनु आत्महत्या गर्नु सरह हो भन्ने तर्क दिएछ । चितुवा धेरै भए साना जनावर सकिने कुरो बुझाएछ । आफूले नेतृत्व पाए चाहिनेजति मात्र सिकार गर्ने, ठूला जनावर पनि मरेपछि मात्र खाने भएकाले जंगलमा मासु कुहिएर रोग नलाग्ने जस्ता दलिल दिएछ । झेली स्यालले सूर्यको कसम खाएर सबै जनावरको हितमा काम गर्ने विश्वास दिलाएपछि जनावरको मन अलि फर्केजस्तो भएछ ।

स्यालको कुरा प्रचण्ड उधुम मचाउने बानी भएको बाँदरलाई सहिसक्नु भएन । उसले तुरन्त चितुवा र स्यालको विरोध गरेछ । जंगलमा साना, गरिब र निमुखा जनावरको हितका लागि उसले सधैंँ धेरै काम गरेको बलियो प्रमाण ऊ सँग रहेछ ।  जब जब कुनै बाहिरी हस्तक्षेप भयो त्यसबेला उसले जंगलको हितका लागि ठूलो कोकोहोलो मच्चाएको र त्यसले यो जंगलका जनावर र रुख बिरुवा जोगाउन मद्दत गरेको जिकिर उसले गरेछ । कहिलेकाहीँ जनावरको चोरेर र लुटेर खाने भए पनि अब नेतृत्वमा आउँदा कुनै पनि २५ बुँदे वा १६ बुँदे सहमति मान्ने उसले कसमै खाएछ । ऊ नेतृत्वमा आएको खण्डमा कुनैपनि बाँदरले कसैको भण्डार नलुट्ने र घर नभत्काउने प्रण पनि गरेछ ।

यी सबैको कुरा सुनिरहेको खरायोले सबैलाई सम्झाउन खोजेछ । यस्ता नियत नै खराब भएका जनावरले कसैको हित नगर्ने र यिनीहरू नेतृत्वमा पुगे भने आफू र आफ्ना नातेदारलाई मात्र जंगलको सबै सुखसुविधा दिलाउने खतरातर्फ इंगित गरेछ । विचरा खरायोको मसिनो स्वरले बोलेको कुरामा कसैले ध्यानै दिएनछन् । तर एउटा गिद्धले भने उसको कुरा बडो ध्यानपूर्वक सुनिरहेको रहेछ । उसले खरायोको कुरामा समर्थन जनाउँदै यस्तो संभावनाको निरुपण गर्नुपर्ने सुझाव दिएछ । आफू सधैंँ आकाशमा उडिरहने र आफ्नो आँखा पनि अत्यन्त तिखो भएको हुनाले जो सुकै नेता भएपनि तिनले गर्ने कामको हेरदेख गर्ने जिम्मेवारी आफूलाई दिन समाजसँग बिन्ती बिसाएछ ।

गिद्धको कुरा समाजमा सबैलाई मन परेछ । सबैले गिद्धलाई सन्देश संवाहकको भूमिका सर्वसम्मत प्रदान गरेछन् । बाँकी नेतृत्वको विषयमा भने अब निर्वाचनमा नै जाने सल्लाह भएछ । खरायोले यी तीनै जनावरले आआफ्नो बानी नसुधारी निर्वाचन गर्नु नहुने अडान कायमै राखेछ तर अरु जनावर जस्तै सुँगुर, घोडा, हरिण, भालु चुप लागेछन् । सबैभन्दा बलियो र सबैले उमेदवारी दिन्छ कि भन्ने सोचेको सज्जन हात्तीसमेत केही नबोली बसेछ । त्यसपछि सो जंगलमा निर्वाचन भएछ ।

निर्वाचनमा कस्ले जित्यो भन्ने कुराले जनावरलाई खासै फरक परेन । कसैको नेतृत्वले पनि जंगलमा सबै जनावरको हित गर्न सकेनछ । जनावर बारम्बार निर्वाचनमा जाने र नेतृत्व फेर्ने काम गर्न थालेछन् । नेतृत्वमा जानेले पनि बडो लोकतान्त्रिक पारा देखाएर जस्लाई जनावरले नेतृत्व सुम्पन्छन् उसैलाई पद छाड्ने सदाशय पनि देखाएछन् ।

चितुवा निर्वाचित हुँदा उसले सुरक्षा दिने नाममा सजिलो सिकार पायो । अरू जनावरले नदेखेको बेलामा पानी खान आउने जनावरलाई मार्दै ऊ र उसका परिवार मोटाउँदै गए । कसैले पनि चितुवाको विषयमा बोल्न सकेन । किनभने मांसाहारी जनावरले कुनै न कुनै रूपमा चितुवाको सिकारमा भाग पाएकै थिए । उनीहरू चितुवाले कसैको विरुद्ध अपराध नगरेको र उसको सिकार गर्न पाउनुपर्ने नैसर्गिक अधिकार प्रयोग गरेको दलिल दिँदै चितुवाको समर्थनमा दत्तचित्त भए । स्याल र बाँदर चितुवाको विरोध गर्नभन्दा उसँग नजिक भएर आफ्नो स्वार्थ पूरा गर्नतर्फ लागेछन् । निर्वाचनको बेलामा भने ठूला हल्ला गरेर स्याल र बाँदर कहिलेकाहीँ निर्वाचन आफ्नो पक्षमा पार्न सफल पनि हुँदा रहेछन् ।

स्याल निर्वाचित हुँदा उसले जनावरलाई अनेक तरिकाले लोभ लालच दिएर फसाउँदै अनेक जालझेल गरेर तिनको सिकार गर्दो रहेछ । अझ ती जनावरको वासस्थानमा पसेर तिनले जम्मा गरेको मह, फलफूल र कतिपयको फुल र बच्चा पनि खाइदिँंदो रहेछ । यी दुईको अत्याचार जति बढी भए पनि बाँदरको नेतृत्व पनि कम हुँदो रहेनछ । जहिल्यै जनावरलाई सताउने, जिस्काउने, तिनको घर भत्काउने, तिनको दोषबिनै जंगली कारवाही भनेर पीडा दिने काम बाँदरले गर्दो रहेछ । अझ बाँदर त आफूलाई चाहिनेभन्दा बढि खोसेर बिगारसमेत गरिदिँदो रहेछ ।

यी सबैको साक्षी बनेको गिद्ध चाहिँ कता छ भनेर अरू जनावरले बेला बेलामा खोज्नु पर्दो रहेछ । बडो चस्मा लगाएझै ठूलाठूला कालाकाला आँखा लगाएर ऊ सधैँ केही खोजेझैँ गर्दो रहेछ । साधारण जनावरलाई आफ्नोजस्तो महत्वपूर्ण काम केही छैन भनेर धक्कु लगाउँदो रहेछ । तर, वास्तवमा ऊ त निर्वाचित प्रतिनिधिको चियोचासो गर्ने बहानामा तिनले मारेर लुकाएको सिनो खाएर दंग परेर चुपचाप बस्दो रहेछ । कसैले सिनो खानबाट रोक्यो भने चाहिँ एकदम हल्ला गरेर आफूलाई जंगलको सबैभन्दा जिम्मेवार निकाय देखाउने प्रयास गर्दो रहेछ । कतिपय अवस्थामा त निर्वाचनमा कसलाई जिताउने भन्ने जनावरको निर्णयमा नै गिद्धेको हल्लाले फरक पार्दो रहेछ । तर, जसले जितेपनि आफूले खान पाए गिद्ध चुपचाप केही नभएजस्तो गरी बस्दोरहेछ हैन भने हल्ला मच्चाउँदो रहेछ ।

तर, त्यो जंगलका अन्य जनावर चाहिँ कस्ता मूर्ख रहेछन् भने आफू आफैँ जंगलको हितका लागि अघि बढ्नुपर्छ भन्ने सोच्दा पनि रहेनछन् । हात्तीलाई आनन्दले घुम्न पाए पुग्दोरहेछ, भालुलाई सुत्न, हरिणलाई मग्न भएर विचरण गर्न अनि खरायोलाई बुद्धि बघार्न ! अनि जति कोसिस गरे पनि जनावरको नेतृत्वमा भने उनै तीनथरी पुग्दा रहेछन् ।

यता मानव जंगलमा भने चरणचरणमा निर्वाचन हुँदैछ र चरणचरणमा दुईचार थरीका नेतृत्वले राज मच्चाएका छन्, जंगल राज र लोकतान्त्रिक राजमा खासै फरक देखाउन कसैले कोसिस गरेका छन् त ?